निर्वाचनबारे छलफल गर्न भोलिका लागि देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं l प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठक भोलि (शनिबार) बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए।

सचिवालयका अनुसार बैठकमा संसद्‌को गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघिको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको थिएन।

पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए। ओलीलाई भेटेको दुई सातापछि देउवाले फेरि सर्वदलीय बैठक डाकेका हुन्।

एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले कारबाही सिफारिस गरेकामा माधवकुमार नेपाल, रामकुमारी झाँक्री लगायत सांसद् छन् ।

More News last news
Loading...