नेपालमा एकैदिन थपिए ६७३४ संक्रमित, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं l नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। तथ्यांकअनुसार सोमबार ३० हजार ८७७ सक्रिय संक्रमित पुगेका छन्। त्यस्तै थप ५४७ जना कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।

Advertisement

संक्रमित दर बढेर ३२.८ प्रतिशत पुग्यो

पछिल्लो दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २५ पुसमा परीक्षण गरिएको नमूनामध्ये ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ३२.८ प्रतिशतमा पुगेको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अब एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ दोस्रो उच्च बिन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ ।

अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपास छ । तर यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक २०–२२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको प्रक्षेपण छ ।

डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४८३ जनामा पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत थियो । त्यसबेला बेड अभाव, अक्सिजन तथा अन्य व्यवस्थापन राम्रो हुनसक्दा थुपैै व्यक्तिले ज्यान गुमाउनु परेको थियो ।

१२२ को आईसीयू तथा भेन्टिलेटरमा उपचार जारी

आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमशः बढिरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार, २३ पुसमा ८१ जनाको आईसीयूमा उपचार भएको थियो । २ माघमा यो संख्या बढेर १२२ पुगेको छ ।

आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीहरू सात-दश दिन नभई डिस्चार्ज हुँदैनन् । तर ठूलो संख्यामा संक्रमित थपिंदै जाँदा अस्पतालमा भर्ना हुने संक्रमितहरूको संख्या स्वतः बढ्छ । यसले स्वास्थ्य प्रणाली कोल्याप्स हुनसक्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

More News last news
Loading...