काठमाडौं l सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।
माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।
पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।
बालबालिकालाई काेभिडविरुद्धकाे खोप दिन शुरु
काठमाडौं उपत्यकाका बालबालिकालाई पौष २७ गतेबाट कोभिडविरुद्धको खोप दिन शुरु गरिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाउन शुरु गरिएको हो ।
सरकारले आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।
जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु भएको हो । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन थालिएको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
