धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारतबाट नेपाल आउनेको संख्या बढ्न थालेको छ।
भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए। उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्।
‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्दा पछिल्लो समय कोरोना संक्रमण दर पनि बढेको छ।,’ भारतमा संक्रमण दर ह्वात्तै बढेपछि त्रिनगर-गौरीफन्टा र गड्डाचौकी नाका भएर स्वदेश फर्कने नेपालीको संख्या बढेको हो।
पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टा भएर दैनिक डेढरदुई हजार नागरिक स्वदेश फर्किरहेका छन्। भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँ संक्रमण दर पनि बढेको उनले बताए।
भारतबाट फर्कने नेपालीको सीमा क्षेत्रमै कोरोना परीक्षण भइरहेको र स्वास्थ्य सामाग्री पर्याप्त रहेको उनी बताउँछन्। अहिले खोप नलगाएका व्यक्तिलाई सीमामै खोप समेत प्रदान गरिँदै आएको छ।
स्वास्थ्य संयोजक साउँदका अनुसार भारतबाट आउने नेपालीमा कोरोना संक्रमण देखिने दर पनि उच्च हुन थालेको छ । उनका अनुसार भारतबाट आउने नेपाली मध्य पुस २२ गते ४८ जनामा, पुस २३ गते ६७ जनामा र आज ९शनिबार० ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आउने नेपालीले कोरोना बढेसँगै बोरोजगार हुने डरले नेपाल आएको बताएका छन् । ‘भारतमा कोरोना बढेपछि धेरै व्यवसायी सचेत बनेका छन्,’ धनगढी-१३ का रामसिंह बोहराले भने, ‘अझै कोरोना बढेमा बेरोजगार हुने र लकडाउनमा फसिने सम्भावना बढेका कारण समयमै स्वदेश आएका हौं ।’ भारतमा कोरोना संक्रमण बढ्नथालेपछि त्यहाँ रहेका नेपाली मजदुर धमाधम नेपाल आउन थालेका उनले बताए ।
भारतको दिल्लीबाट फर्केका बझाङका दिनेश नेपालीले पनि कोरोना त्रास पछि नेपाल फर्किएको बताए । दुई सातामै भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ,’ उनले भने, ‘आगामी दिनमा संक्रमण दर झनै बढ्न सक्ने देखिएपछि म नेपाल फर्केको हु ।’ सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै उनले अव ढुक्कसँग घर जाने बताए।
सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतमा रहेका नेपाली स्वदेश आउने गरेकोमा कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा मात्रै भारतबाट फर्किएका नेपालीको कोरोना परीक्षण हुँदै आएको छ। बैतडी, दार्चुला लगायत कैलालीको खक्क्रौला नाकाबाट नेपाल आउने नेपाली नागरिक भने कोरोना परीक्षण विना नै नेपाल आउने गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
