एकै दिन ओलीका तीन सम्बोधनः चुनावपछि एमालेले बहुमतको सरकार बनाउँछ

काठमाडौँ । नेकपा एमालेको शुक्रबारबाट जिल्ला अधिवेशन सुरु भएको छ। शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाडौँ र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे।

करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानुन र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए।

Advertisement

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे। तीनवटै सम्बोधनमा एउटै भाषण गरेका ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ। त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ।’ आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’

सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका ओलीले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन्।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे। गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए।

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए।

More News last news
Loading...