माओवादीको ८औँ महाधिवेशनः प्रमुख पार्टीका शीर्ष नेताहरु उपस्थित, कसले के भने ?

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुग्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल पुग्नुभएको हो ।

Advertisement

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाही, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल पनि शुभकामना दिन कार्यक्रमस्थल पुग्नुभएको छ । नेताहरूबाट शुभकामना मन्तव्य दिनेक्रम जारी छ ।

माओवादीले आजदेखि प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरेको तर शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठाँै राष्ट्रिय महाधिवशेनका रूपमा परिणत गरेको थियो । यसअघि माओवादीले सम्मेलन भएकाले अतिथिका रूपमा कसैलाई नबोलाउने निर्णय गरेको थियो । सम्मेलनलाई महाधिवशेनमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादीले नेपालमा क्रियाशील राजनीतिक दललाई आमन्त्रण गरेको हो ।

महाधिवशेनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्नुभयो । कार्यक्रमको सञ्चालन अर्थमन्त्री एवं माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गर्नुभएको छ । उद्घाटन सत्रमा उपस्थितलाई स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गर्नुभएको थियो ।

गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् ।नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए ।

राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए। ‘माधवकुमार नेपाल यही हुनुहुन्छ । काठमाडौंमै हुनुहुन्छ’, उनले भने, ‘अब संसदमा अवरोध गरेर केही प्राप्त हुँदैन ।’

माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको उनको भनाइ छ । सबै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने यादवले बताए।

प्रतिगमन अन्त्यका लागि दलीय एकता आवश्यक : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन्। नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताएकी हुन् ।

‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय छ’, उनले भनिन्, ‘हामीहरूबीच मतभेद रहेको भए पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक छ ।’ राष्ट्रियताका लागि दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । राष्ट्रियताको रक्षा र एमसीसीलगायतका विषयमा माओवादीले उचित निर्णय लिने अपेक्षा गरेको उनले बताइन्।

सिपी गजुरेलले गरे माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव

नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न माग गरेका छन् ।

‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ उनले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ।’ अन्तमा माओवादीको महाधिवेशन सफलताको शुभकामना दिँदै उनले पार्टी एकतामा जोड दिए।

माओवादी महाधिवेशन : वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनमा माओवादीको पहिचान बोकेका नेताहरू देखिएनन् । ०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दिएका थिए । आज यी सबै नेता माओवादी केन्द्रबाट बाहिरिइसकेका छन् ।

माओवादी केन्द्रमा अध्यक्ष पदबाहेक कोही पनि स्थिर छैनन् । सबै कुनै न कुनै कारण कारबाहीमा परेका छन् । आठौं महाधिवेशनमा सहभागी हुन आएका माओवादी प्रतिनिधिहरूले १० वर्षसम्म सशस्त्र विद्रोहको नेतृत्व गरेका नेताहरू नै नदेखेपछि खल्लो महसुस गरेका छन् ।

मोहन वैद्य अहिले पनि माओवादी नाम गरेको अलग्गै पार्टीमा छन् । बाबुरामले चारवटा पार्टी चाहरिसके । बादल, लेखराजहरू अहिले एमालेमा छन् । विप्लव नेकपा नामक पार्टीको महासचिव छन् ।

More News last news
Loading...