काठमाडौं l प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका थिए ।
मंगलबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरेका थिए ।
मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरिएको छ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए।
एमालेकाे नाराबाजी
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला मौनधारण गरिएको छ । राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका बेला मौनधारणका लागि आग्रह गरिएको थियो।
सभामुख सापकोटाले ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरे। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ।
संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए। मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन्। नाराबाजीकै बीच सभामुखले संसद्काे कारबाही अघि बढाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
