काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मसिंरबाट सुरु हुने ए डिभिजन लिगको तालिका हेरफेर गरेको छ।
मंगलबार एन्फाले शीर्ष डिभिजनको लिग सुरु नहुँदै तालिका हेरफेर गरेको हो। यसअघि लिग २७ कात्तिकमा सुरु हुने तय भए पनि सारिएर ३ गतेलाई पुर्याएको थियो।
जहाँ दुई चरणका खेल पूर्ण रुपमा सार्वजनिक भएको थियो। दुई चरणको खेललाई मात्रै एन्फाले हेरफेर गरेको छ। लिग सुरु नहुँदै हेरफेर भएको तालिकामा भने हप्तामा ४ दिन खेल राखिएको छ।
उद्घाटनको दिन एकमात्रै खेल हुनेछ। जसमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। यसपछि भने एन्फाले प्रत्येक दिन २ खेल तोकेको छ।
एन्फाले हप्तामा ४ दिन खेल हुने तालिका सार्वजनिक गरेको हो। शुक्रबार, शनिबार, आइतबार र सोमबारमात्रै लिगको खेल हुने गरि तालिका सार्वजनिक गरिएको छ। नयाँ तालिकाअनुसार प्रत्येक दिन पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल पौने ५ बजे सुरु हुनेछ।
यस्तै एन्फाले निकालेको दुबै चरणको खेल दशरथ रंगशालामा हुनेछ। यसअघि एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो।
यस सिजनको लिगको लागि एन्फाले सामान्यतर्फ १ सय र भीआईपी तर्फ ५ सयको टिकट मुल्य तोकेको थियो। दुई टोली रेलिगेशन पर्ने लिगको विजेताले ७५ लाख पाउँदा उपविजेताले ५० लाख पाउनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
