काठमाडौँ । एमसीसी कार्यान्वयन रोक्न २२ दलले कार्यगत एकता जनाएका छन्। एमसीसी राष्ट्रघाती भएको भन्दै २२ दल एक भएर खारेजीको माग गरेका छन्। एमसीसी खारेजका लागि कार्यगत एकता गर्ने दलहरुमा नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र समाजवादी लगायतका २२ वटा दल छन्।
उनीहरुले संसदबाट एमसीसी पास हुन देशभक्त नागरिकहरुको आन्दोलन र विरोधका कारण सफल नभएको दाबी गरेका छन्। उनीहरुले नेपाल भ्रमणमा आउन लागेको एमसीसीकी उपाध्यक्षसहितको टोलीको भ्रमण पनि राष्ट्रघाती भएको भन्दै भ्रमण रोक्न माग गरेका छन्।
यदि भ्रमण खारेज नभएमा विरोध प्रदर्शन गर्ने उनीहरुको चेतावनी छ। उनीहरुले भनेका छन्, ‘अमेरिकी सरकारद्वारा प्रायोजित राष्ट्रघाती एमसीसी परियोजना नेपालको संसदबाट अनुमोदन गराउने प्रयास देशभक्तहरुका कारण अहिलेसम्म सफल हुन सकिरहेको छैन।
त्यसकै निमित्त दबाब सिर्जना गर्नका लागि उक्त परियोजनाकी उपाध्यक्षसहितको टोली नेपाल आउँदैछ। यो भ्रमण हाम्रो राष्ट्रहित विपरीत हुने भएकाले हामी यसको खारेजीको माग गर्दछौँ। यदि त्यसो गरिएन भने त्यसका विरुद्ध प्रदर्शनको आयोजनाहरु गरिनेछ।
उक्त कार्यक्रममा सहभागीताका लागि तयार रहन सम्पूर्ण देशभक्तलाई आह्वान गर्छौँ । ठोस कार्यक्रम चाँदै सार्वजनिक गरिनेछ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
