काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ। आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो।
बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको छ। महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पङ्क्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए।
पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पङ्क्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो।
आजैको बैठकबाट रिले अनसनमा बसिरहेका जिल्ला सभापतिजीहरुको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय पनि गरेको नेता सिंहले बताए। पौडेल पक्षले २ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दवाव दिएको छ।
२ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद समाधान गरी वडा अधिवेशन यही भदौ १८ गतेबाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा पार्टी सभापति देउवासँग सहमति गरिएकाले सोहीअनुसार अघि बढने निर्णय पनि गरिएको वरिष्ठ नेता पौडेल निकट स्रोतले जनाएको छ।
बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत थिए। जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन्। उनीहरुको मागमा पौडेल पक्षले ऐक्यवद्धता जनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
