काठमाडौँ । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउन रियल म्याड्रिडले दोस्रो अफर प्रस्तुत गरेको छ । गोल डटकमका अनुसार रियलले २० करोड डलर र थप १.२ करोड एडअनको अफर प्रस्तुत गरेको हो।
यसअघि रियलले १८.८ करोड डलरको अफर पीएसजीसामु गरेको थियो । तर, त्यसलाई क्लबले अस्वीकार गरेको थियो। अहिले नयाँ अफर राखेपछि स्पेनिस महारथी २२ वर्षीय सुपरस्टारलाई क्लबमा भित्र्याउनेमा विश्वस्त देखिएको छ ।
यो सिजनको अन्त्यमा एम्बाप्पेको पीएसजीसँगको करार सकिँदैछ । पीएसजीले उनलाई क्लबमा राख्न ६ वटा नवीकरणको अफरहरु राखे पनि उनले त्यसलाई अस्वीकार गरेका छन् । फरवार्डले आफ्नो सपना रियल म्याड्रिडसँग आबद्ध हुनु रहेको स्पष्ट पारेका छन् । यसका लागि आफूले जे पनि गर्न तयार रहेको उनले बताएका छन्।
पीएसजीका निर्देशक लियोनार्दोले पनि एम्बाप्पेले क्लब छाडेर जान चाहेको स्वीकार गरेका छन् । तर, साथसाथै अनैतिक ढंगले खेलाडीसँग सम्पर्क गरेकोमा रियलको आलोचना पनि गरेका छन्।
पीएसजीले एम्बाप्पेका लागि २५.९ करोड डलर माग गरेको छ । रियलले भने त्यति धेरै रकम नतिर्ने स्पष्ट पारेको छ । पीएसजीका हेड कोच माउरिसियो पोचेटिन्होले पनि एम्बाप्पेले क्लब छाड्ने कुरालाई स्वीकार गरिसकेको बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
