पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा गरिएको १ हजार ६७६ जनाको नमुना परीक्षणमा थप ४९६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका सबैभन्दा धेरै १९८ सहित मुस्ताङका १६ जना, मनाङका १६ जना, म्याग्दीका ८ जना, पर्वतका २५ जना, गोरखाका २१ जना, लमजुङका ४ जना, तनहुँका २९ जना, बाग्लुङका ५९ जना, स्याङ्जाका २८ जना र नवलपुरका ९२ जना गरी प्रदेशका सबै जिल्लामा गरी २४४ पुरुष तथा २५२ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ८९६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २३९ पुगेको छ ।
गण्डकीमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।
पोखरामा मात्रै ८ कोरोना सक्रमितको मृत्यु
कोरोना भाइरसको संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १३ की ४३ वर्षीया महिलाको बुधबार र पोखरा १३ का ९२ वर्षीय पुरुष तथा पोखरा १४ की ६८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै, मणिपाल अस्पताल पोखरामा उपचाररत पर्वत मोदी ५ की ६६ वर्षीया महिला, गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँ शुक्लागण्डकी ११ का ३३ वर्षीय पुरुष र सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत पोखरा ३२ की ४२ वर्षीया महिलाको बिहीबार उपचार कै क्रममा ज्यान गएको छ।
सङ्क्रामक तथा सरुवा रोग अस्पताल मै उपचाररत पोखरा १६ की ७९ वर्षीय महिला तथा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत पोखरा २६ का ५८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको छ।
निर्देशनालयका अनुसार बुधबार नै म्याग्दीको बेनी ६ मा होम आइसोलेसनमा बसेका एक ८२ वर्षीय पुरुषको कोरोनाबाट निधन भएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २६८ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
