काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको हो।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको बताइएको छ। तर नेता नेपालले पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेका छन्।
त्यसैले अब नेपाल पक्षविनै मन्त्रिपरिषद विस्तार गर्ने दुई शीर्ष नेताबीच सहमति भएको हो। नेपाल पक्ष नजाने भएपछि कांग्रेसले आठ, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सात-सात मन्त्री बन्नेछन्।
बाँकी तीन स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरू मन्त्री बन्ने निकटहरूको दाबी छ। आइतबार बिहान संख्या र मन्त्रालय टुंगो लाग्ने एक नेताले बताए । कांग्रेसबाट विस्तारित मन्त्रिपरिषद्मा पुष्पा भुसाल सहभागी हुने निश्चित छ।
यसैगरी गर्दै नारायण खड्का, मानबहादुर विक, किशोरसिंह राठोर, बहादुर सिंह लामासहितका नेता सक्रिय छन्। त्यस्तै, संस्थापनइतर पक्षबाट देउवाले नेता रामचन्द्र पौडेलसँग दुई नेताको मात्र नाम मागेको स्रोतको दाबी छ।
त्यसमध्ये पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन देउवाले चाहेको बताइएको छ। अन्य दलबाट भने को को मन्त्रिमण्डलमा सहभागी हुन्छन् भन्नेबारे माओवादी केन्द्र र जनता समाजवादी पार्टीलेले टुङ्गो लगाइसकेका छैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
