काँग्रेस बैठकद्वारा क्रियाशील सदस्यता छानबिन समितिको म्याद थप्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरुपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठक बिहीबार पुनः बस्दैछ।

Advertisement

समितिले बुधबार मात्रै पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरणसम्बन्धी प्रतिवेदन बुझाएको थियो। विसं २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन्। कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ।

More News last news
Loading...