काठमाडौँ । नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन्। सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले जानकारी दिए।
माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमालेको दशौँ महाधिवेशन कमिटी भङ्ग गरिदिएकाले आफूहरू पार्टीविहीन अवस्थामा रहेको नेता रायमाझीको गुनासो छ।
सर्वोच्चले कर्णाली प्रदेशका सांसदलाई पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि पद बिउँताउनुपर्ने रायमाझीले बताए। माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन्।
कारबाही गर्दा आफूहरूलाई सफाइको मौका पनि नदिइएकाले कारबाही बदर गर्न लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माग गरेका छन्। यो रिटको पेसी भोलि बिहीवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
