लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए।

Advertisement

उनीहरुलाई प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो। पार्टीलाई जवाफ नदिएका कारण पार्टीको विधानअनुसार उनीहरुलाई निष्काशन गरिएको राईले बताए।

त्यसैगरी, जसपा कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दलको विधान अनुमोदन गरेको हो।

बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा नवराज सुवेदी, रमेश यादव र सुशीला श्रेष्ठ छन्।

बैठकले निर्वाचन आयोग र सर्वोच्च अदालतमा रहेका मुद्दालाई हेर्ने जिम्मेवारी पार्टीका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई दिएको छ।

More News last news
Loading...