काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले आज दुबै पक्षलाई आयोगमा बोलाएको छ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यहरूलाई नागरिकताहित आयोगमा उपस्थित हुन भनिएको छ। जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ।
अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्।
ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ। पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि आज बोलाएको हो।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए । तर हिजो सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेपछि आयोगलाई हस्ताक्षर सनाखत गर्न बाटो खुलेको हो।
आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिने निर्वाचन आयोगको तयारी छ ।
जसपामा अध्यक्ष उपेन्द्र बाबुराम पक्षमा ३१ केन्द्रीय कार्यकारिणी समिति सदस्य खुलेर लागेका छन् भने अझै केही थपिने यादव पक्षको दावी छ । बहुमतका आधारमा आधिकारिकता पाउने भए सरसर्ती हेर्दा आज आयोगले यादव भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिने सम्भावना छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
