काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। मंगलबार ‘इन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम हस्तान्तरण गरेका हुन्।
भदौको अन्त्यमा अस्थायी आवास उद्घाटन हुने जनाइएको छ। त्यस्तै, मेलम्चीमा ५ बाढी प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि झण्डै १८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
त्यस्तै भोटेकोशी गाउँपालिका-१ का बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि भन्दै ‘इन्द्रेणी’कार्यक्रमले सहयोग रकम हस्तान्तरण गरेको छ। गत असारमा झण्डै ४ लाख रुपैयाँ हस्तान्तरण गरिएकोमा बुधबार झण्डै ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण कँडेलले जानकारी दिए।
इन्द्रेणी कार्यक्रमले यसअघि पनि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि नगद तथा लत्ताकपडा सहयोग गरेको थियो।
‘त्यहाँको अवस्थाको बारेमा कार्यक्रम प्रसारण गरेपछि देश–विदेशबाट थुप्रै दर्शकले सहयोग पठाउनुभएको थियो। सोही रकम हामीले हस्तान्तरण गरेका हौं’, कँडेलले भने। ‘इन्द्रेणी’ लोकदोहोरीसँग सम्बन्धित लोकप्रिय कार्यक्रम हो। यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
