काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।
माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीले नेताहरुले स्पष्टीकरणको छुट्टाछुट्टै जवाफ दिएको बताए। चौधरीले आफुले भने ६ बुँदे जवाफ दिएका छन्।
अध्यक्ष ओलीलाई सम्बोधन गरेर चौधरीले बुझाएको जवाफमा साउन ४ गतेको पत्रमार्फत उठाएका सवालहरूलाई नेकपा एमालेभित्र पछिल्लो समयमा विकास भएका राजनीतिक र सांगठनिक परिवेशमा हेर्न वाञ्छनीय हुने बताएका छन्।
उनले जवाफमा ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइ एकताबद्ध भएर निर्णय गरी अगाडि बढ्नुपर्नेमा विधिवत बैठक बोलाउनुको साटो पार्टी अध्यक्षले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई जानकारी नै नदिई गुटगत रुपमा प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो मत मिल्नेहरूको भेला बोलाइ केन्द्रीय कमिटीको कथित विशेष बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरित नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नै नरहेका २३ जना व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको पाइयो। यो काम कसरी विधानसम्मत हुनसक्छ ?’ भन्दै प्रश्न गरेका छन्।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणसोधेका थिए।
स्पष्टीकरण सोधिएका सांसदहरुमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी रहेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
