काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । पार्टीका महामन्त्री समेत रहेका प्रधानमन्त्रीका विस्वासपात्र पूर्णबहादुर खड्कासहितका नेताहरुले मन्त्री बन्नेहरुको प्रारम्भिक लिष्ट तयार पारेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने भएका छन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने पक्का जस्तै भएको छ । प्रधानले यसअघि रक्षामन्त्रीको कार्यभार सफलतापूर्वक पूरा गरेका थिए।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको समूहबाट सञ्जयकुमार गौतम र कांग्रेसका अर्का महामन्त्री खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल मन्त्रीको सूचिमा परेका छन्। गौतम तत्कालिन बाम गठबन्धनका हेभिवेट उम्मेद्वार बामदेव गौतमलाई हराउँदै बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
हाल सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समुह), नेकपा (एमाले) (माधव–झलनाथ समुह) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा सामेल छन् । गठबन्धमा सामेल जनमोर्चा सरकारमा सहभागी नहुने बताइसकेको छ भने एमालेको माधव–झलनाथ समुहले तत्काल सरकारमा जाने नजाने निर्णय गरिसकेको छैन।
यो अवस्थामा आफ्नै नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । प्रधानमन्त्री देउवाले यसअघि आफ्नै समूहका नेता बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन्।
यी बाहेक सांसद्हरु डा. मिनेन्द्र रिजाल, गगन कुमार थापा, डा. डिला संग्रौला, दिलेन्द्र प्रसाद बढु पनि नेताहरुको मन्त्री लिष्टमा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
