विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको घोषणा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो।

Advertisement

बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताएका छन्। पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ। अब त्यसलाई उहाँहरुलाई कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ।’

उनको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन्। नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो। एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए।

त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेपछि देउवा सर्वोच्च गए, जहाँ उनले माधव नेपाल समूहका २३ सांसदको साथ पाएका थिए।

तर सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको छ। यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ।

More News last news
Loading...