महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । जनता समाजवादी पार्टीका नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

उनले आजै निर्वाचन आयोगमा सो पार्टी दर्ताका लागि निवेदन दिन लगाएको स्रोतले जनाएको छ। स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन दिइएको हो।

Advertisement

यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक्षतामा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए।

पार्टीको आधिकारिताबारे विवाद निर्वाचन आयोगमा चलिरहेको बेला दुवै पक्षले एक अर्काको पुरानो पार्टी दर्ता गराउन थालेका हुन्। संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादव नेतृत्वको पुरानो पार्टी हो। यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नयाँ पार्टी हो।

मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी बीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो। पछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच एकीकरण भएर समाजवादी पार्टी बनेको थियो। सोही समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा बनेको हो।

यी दुवै पार्टी दर्ता गराएर राख्ने तयारी महन्थ ठाकुरको रहेको छ। यसको जिम्मेवारी सर्वेन्द्रनाथ शुक्ला र चन्दा चौधरीलाई दिएको जसपा स्रोतले जानकारी दिएको छ।

यसअघि शुक्ला र चौधरीले पुरानो राजपा दर्ता गराउने तयारी गरिरहेका थिए। तर एकाएक उपेन्द्रको निर्देशनमा हरिनारायण आयोग पुगेका थिए।

ज्ञानेन्द्र झा र अजय झा महन्थ ठाकुरका आफन्त हुन्। अजय झा भन्छन्, ‘महन्थ ठाकुरसँग नाम जोड्नु गलत हो, हामीले दर्ता गराउन लागेको पार्टीसँग महन्थ ठाकुरको कुनै साइनो छैन।’ आफू जसपा नेपालमा भएपनि धेरै पहिलादेखि निश्कृय रहेको भन्दै उनले अहिले युवाहरु मिलेर छुट्टै पार्टी दर्ता गराउन लागेको बताए।

उनले भने, ‘यो पार्टीमा हामीले १६ वर्षदेखि ४० वर्षको युवालाई मात्र समेट्छौंँ, यो पार्टीले युवाका लागि मात्र काम गर्नेछ।’

यसैबीच निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि निवेदन आउँदैछ भनि जानकारी आएको तर दर्ता भए(नभएबारे भने बुझेर एक डेढ घण्टापछि मात्र भन्न सकिने बताए।

More News last news
Loading...