काठमाडौँ । निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको छ । सो पार्टीको नाम अब जनता जनवादी पार्टी (जजपा) रहने भएको छ।
नेकपाभित्र विवाद चर्किरहेका बेला गत साल सन्ध्या तिवारीका नाममा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गरिएको नेकपाको अर्को खेमाले आरोप लगाउँदै आएको थियो।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै एमाले ब्युँताइदिएपछि तिवारीको एमाले खारेज भएको हो।
निर्वाचन आयोगले तिवारीलाई पत्र लेखेर उनको पार्टीको नाम सच्याउन निर्देशन दिएको आयोग स्रोतले जानकारी दिएको छ। नेकपा एमाले ब्युँतिएपछि नाम फेर्न पत्राचार गरिएको थियो, अहिले सो पार्टीको नाम फेरिएर जजपा भइसकेको छ,’ स्रोतले भन्यो, ‘चुनाव चिन्ह अर्कै रहेको हुनाले त्यसमा समस्या रहेन।’ सन्ध्या तिवारीको एमालेले डाँडामाथिको उदाउँदो सूर्य चुनाव चिन्ह पाएको थियो।
यसैबीच, फागुन २३ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र ब्युँतिएपछि निर्वाचन आयोगले गोपाल किरातीलाई पनि पुनर्गठित नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह फेर्न पत्राचार गरेको थियो।
आयोगको निर्देशनपछि किरातीले आफ्नो पार्टीको नाम फेरेर एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनाएका छन्। किरातीले पूर्वमाओवादीकै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया–हथौडा पाएकोमा अब त्यो नपाउने निर्वाचन आयोगका अधिकारीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
