काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छाडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन्।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा उनले जोड दिए। अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उत्पादन गर्न सकिने बताए।
उनले भने, ‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्धान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ। हामीहरुले पूर्वजको मेमोरी, जिनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौ।’
प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नो गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए ।
उनले भने, ‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो। पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा । अनि मैले उहाँलाई एउटा औषधी चाहिँ बताइदिएँ। म आफैलाई पानीसरा भएको थियो। पानीसरा अत्यन्तै पोल्छ।’
‘दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले। साधारण औषधी कालो तिल आफैले चपाएर थपक थपक लगाइदियो भने बिरामीले चपाउन पनि आनन्द मान्छ । पोलिरहेको त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टाभित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।’
सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तीनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा परम्परागत औषधीहरूको बेलिविस्तार लगाए।
कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
