राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ।

Advertisement

अघिल्लो बर्ष पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि पुस २६ गते अन्त्य भएको थियो। सो अवधिमा जम्मा ७ घण्टा ५ मिनेट राष्ट्रिय सभाको बैठक चलेको थियो। नेपालको संसदीय इतिहासमा यो सबैभन्दा छोटो अधिवेशन थियो।

हालसम्म २५ विधेयक दर्ता भएको राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिमा रहेका १० विधेयकमध्ये ८ वटा विधेयक सभामा प्रस्तुत गर्नका लागि तयारी अवस्थामा छन्। सरकारले दर्ता गरेका ७ वटा विधेयक पनि छलफल अघि बढ्न नपाउँदा अलपत्र अवस्थामा छन्।

गत पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको सरकारले संसदप्रति सरकार प्रतिवद्ध छ भन्ने देखाउनका लागि पुस १७ गते बैठक बोलाए पनि बिजनेस नदिई ९ दिनपछि बन्द गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार पहिलो अधिवेशन अन्त्य गरेको ६ महिनाभित्र संसदको अर्को अधिवेशन बोलाउनुपर्ने प्रावधान अनुसार सरकारले राष्ट्रिय सभाको बैठक आह्वान गरेको हो।

More News last news
Loading...