काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बा आइतबारदेखि नै परिवारबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
विभिन्न चरा तथा पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा आइतबारदेखि नै हराएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको हो।
करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका थिए। सन्तोषीसहित धनबहादुरको परिवार कालोपुलस्थित टहरामा बस्दै आएको थियो।
तर कालोपुल बस्ने सन्तोषी कसरी दक्षिणकाली पुगिन्, उनलाई कसले त्यहाँ पुर्यायो र हत्या गर्यो, सो सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको थियो। अनुहारमा ढुङ्गाले हानेर हत्या गरिएको र शवसमेत चिन्न नसक्ने अवस्थामा उनको शव भेटिएको थियो।
उनले लगाएको कपडा र घटनास्थलमा फेला पारिएको केही सामानको आधारमा उनको शव पहिचान भएको हो। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
कालोपुल बस्ने उनलाई कसैले ललाईफकाई वा प्रलोभनमा पारी दक्षिणकाली पुर्याएको हुनसक्ने आशंका गरिएको छ। जंगलको छेउमा रहेको सुनसान स्थलमा शव फेला परेका कारण चिनजानकै व्यक्तिले उनलाई त्यहाँ पुर्याएर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले उनको चिनजानका व्यक्ति, धेरै कुराकानी हुने व्यक्ति आदिको बारेमा जानकारी लिइरहेको र केही दिनमै हत्याराको पहिचान खुल्ने विश्वास लिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
