काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पनि देशका अधिकांश स्थानहरुमा चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ।
आज कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही भू–भागमा भीषण वर्षा र थोरै स्थानमा त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
भीषण वर्षाका कारण ती स्थानको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
बुधबार बिहान देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो पनि देशभरको मौसम बदली रहने छ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै‚ कर्णाली, लुम्बिन र गण्डकी प्रदेशका केही स्थानमा भने भीषणा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूर पश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ। राति देशभर पनि मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
