काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ।
सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो।
बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ।
सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ।
अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । यी कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको छ। बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई यी कम्पनीहरुमा लगानी गर्न सचेत गराएको छ।
पछिल्लो समय सेयर बजारमा निकै ठूलो कारोबार हुने गरेको छ। अहिलेको अवस्था हेर्दा लगानीकर्ताहरुले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड स्थापना कायम भई करीव २० अर्ब नजिक पुगेको बोर्डले बताएको छ।
धितोपत्र बजार जोखिम मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आकलन गरेरमात्र लगानी गर्नु पर्ने लगानीकर्ताहरुलाई बोर्डको सुझाव छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
