काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन शुक्रबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको बताए।
‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ। तर यसबारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन्। तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं।’
नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको विश्व स्वास्थ्य संगठनले पनि बताएको छ। बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए।
‘हामी आफैं यसबारे अनभिज्ञ छौं। बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं। नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा पौडेलले भने। डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो।
नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
