काठमाडौँ । कोभिड–१९ ले रोकिएको कक्षा–१२ को परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए।
उनका अनुसार कक्षा–१२ को तत्काल हुँदैन। परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ। यसका लागि पाठ्यक्रम संशोधन गरिने उनले बताए।
कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोनाका कारण परीक्षा हुन सकेन्।
परीक्षा स्थगित गरेकै दिन शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो।
सोहीअनुरूप कार्यदलले एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी प्रतिवेदन गत बिहीबार बोर्डलाई बुझाएको थियो।
प्राडा पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि,आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गराउनेलगायत सुझाव दिएको थियो। यस वर्षको एसइई परीक्षा दिनेमा करिब पाँच लाख विद्यार्थी रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
