आउँदो वर्षभित्र भूमिहीनले लालपुर्जा पाउने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र भूमिहीनहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

आउँदो आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सबै किसिमका भूमिहीनहरूको लगत सङ्कलन गरी आउँदो आर्थिक वर्षभित्र जग्गाधनी पुर्जा वितरण गरिसक्ने घोषणा गरेका हुन्।

Advertisement

यसका लागि ६८ करोड रुपैयाँ विनियोजन भएको छ। यस्तै अतिक्रमणमा परेका सरकारी, सामुदायिक तथा गुठीका जग्गा फिर्ता गरिसक्ने पनि बजेटमा घोषणा गरिएको छ।

गैरकानुनी कब्जा गरिएका तथा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेका सबै जग्गाको लगत सङ्कलन गरी फिर्ता लिइ सक्ने अर्थ मन्त्री पौडेलले बताए।

यस्तै भूमि बैंकको स्थापना गरेर प्रयोग नभएका सरकारी तथा निजी जग्गालाई व्यावसायिक खेतीका लागि उपलब्ध गराउने सरकारले घोषणा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन्। चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो।

More News last news
Loading...