काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ।
उनको बिहीबार साँझ ६ बजे काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए। उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
उनलाई नौ दिनअघि कोरोना संक्रमण भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।
आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को ज्यान गएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
