सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने पार्टी निकट स्रोतले जानकारी दिएको छ।

Advertisement

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन।

तर, प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।

२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन्। माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन्।

काँग्रेसका ६३ मध्ये २ जना (विजयकुमार गच्छदार र अफताब आलम) निलम्बित छन्। त्यस्तै, जनता समाजवादीका ३४ मध्ये २ जना (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमै छन्।

साना दलहरूबाट मजदुर किसान पार्टी, राप्रपा र जनमोर्चाका एक–एक सांसद छन्। जसमा गणना हुने सांसदको संख्या २७१ हुन पुग्छ। २७१ मध्ये बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ।

More News last news
Loading...