काठमाडौँ उपत्यकामा आइतबारदेखि निषेधाज्ञामा थप कडाई गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ। शनिवार काठमाडौँका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

Advertisement

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

उनले भने, ‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ। भोलिदेखि थप कडा गर्ने विचार गरेका छौँ। सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ।’

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने पनि उनले बताए।

शैया र बेडको खोजी

शनिवार काठमाडौँको सडकको अवस्था र अस्पतालहरूको अवलोकन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयरसहित सुरक्षाकर्मीको टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ।

काठमाडौँको वीर अस्पतालको ५ सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको छ। सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले जानकारी दिए।

यस्तै काठमाडौँमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको उनले बताए ।

अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले बताए ।

सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ ।

वीर अस्पतालमा भवन बनेको र भौतिक पूर्वाधार पनि रहेकोले त्यसलाई पनि नयाँ कोभिड वार्ड बनाउनेबारे छलफल भएको उनले बताए । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काठमाडौं महानगरपालिकाले कोभिड वार्ड तयार गर्ने तयारी थालिएको हो ।

More News last news
Loading...