काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ।
सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिए।
यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने पनि उनले बताए । उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए ।
उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ।
सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने पनि सहायक प्रजिअ बस्नेतले जनाए।
दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ। सोमबार बिहान काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
