काठमाडौँ । भारतमा कोरोनाले भयावह स्थिति निम्तिएसँगै काठमाडौँ उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ। यो अवस्थालाई ध्यानमा राखी काठमाडौँमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रालयको सुझावकै आधारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र नियन्त्रणका लागि गरिएका प्रयास बारे जानकारी गराएको छ।
सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको स्वास्थ्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
काठमाडौँका बासिन्दाको लापरबाही रोक्न उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतको दाबी छ। यसबारेमा प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकिएकाले सरकारले तत्कालै आवश्यक निर्णय लिने स्रोतले जनाएको छ।
अन्तराष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने, तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीका अधिकारीहरूको जोड छ। नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन्।
हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ। होल्डिङ सेन्टरहरु यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा जोड दिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
