नक्कली पीसीआर रिपोर्ट बोकेका विदेशीसहित १ सय ७२ यात्रु विमानस्थलबाट पक्राउ

काठमाडौँ । नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो ।

Advertisement

बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र एयर अरेबियाको उडानबाट शारजाह जान लागेका यात्रुहरुलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको विमानस्थलस्थित टर्मिनल ड्युटी कार्यालयले जनाएको छ।

जाँच गरी बोर्डिङ पास लिइ सकेका सलाम एयरका ३२ जना, जजिरा एयरका ३६ जना र एयर अरेबियाका ५४ जना यात्रु गरी १ सय २२ जना यात्रुलाई डिपार्चर हलबाट पक्राउ गरिएको थियो। यसमा ७२ जना नेपाली, ४९ जना भारतीय र एक जना पाकिस्तानी यात्रु छन्।

त्यस्तै प्रहरीले हेल्थ डेस्कबाट ५० जना यात्रुलाई पक्राउ गरेको थियो । जसमा २९ जना नेपाली, १९ जना भारतीय र २ जना पाकिस्तानी छन्। ‘नौ हजार रुपैयाँमा नक्कली पीसीआर नेगेटिभ लेखिएको प्रमाणपत्र बिक्री हुने गरेको सूचना प्राप्त भएको छ,’ तिवारीले भने।

हाल भारतबाट मध्यपूर्वी श्रम गन्तव्य भएका मुलुकमा जान रोक भएकाले भारत, पाकिस्तान लगायतका छिमेकी मुलुकका यात्रु काठमाडौं हुँदै ती मुलुकमा जाने गरेका छन्। ती मुलुकका वायुसेवाहरुले पछिल्लो ७२ घन्टाको पीसीआर नेगेटिभ भएको प्रमाणका आधारमा यात्रु लैजाँदै आएका छन्।

More News last news
Loading...