काठमाडौँ । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँ उपत्यकामा मात्र १०५१ जना थपिएका छन्। बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।
उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी काठमाडौँ उपत्यकामा कुल १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए।
यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ। मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
