काठमाडौँ । सर्वोच्च अदालतले जोर–विजोर पद्धतिमा सवारी साधन सञ्चालन गर्न निर्देशनात्मक आदेश दिएको छ।
सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको हो।
न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको निर्देशनात्मक आदेशमा आवश्यक परे हरेक दिन जोर–विजोरका नम्बरका सवारीसाधन चलाउने पद्धति पनि बसाल्दै लैजान भनिएको छ।
अधिवक्ता तुलसी सिंखडाले काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा पार्किङ अव्यस्थित भएको उल्लेख गर्दै पार्किङको व्यवस्था गर्न आदेशको माग दाबी गरी झन्डै ३ वर्षअघि रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चले सो रिट निवेदनमाथि सुनुवाइ गर्दै जोर–विजोर पद्धति बसाल्दै जान आदेश जारी गरेको हो। सर्वोच्चको सो आदेश केही दिनअघि मात्र नेपाल कानुन पत्रिकामा प्रकाशित गरिएको छ।
सर्वोच्चले देशका सबै क्षेत्रमा विशेष गरी पुराना शहर र बजार क्षेत्रका नजिक र वरिपरिका आवश्यक ठाउँमा पर्याप्त मात्रामा निजी तथा सार्वजनिक सवारीसाधनहरूका लागि पार्किङ क्षेत्र निर्धारण गर्नुपर्ने कानुनी दायित्वबाट सरकार पछि हटेको भन्दै कानूनले उल्लेख गरेबमोजिम स्थानीय तहहरूसँग समन्वय गरी उचित र आवश्यक मात्रामा पार्किङस्थलको निर्धारण र व्यवस्था गर्ने कार्य गर्न–गराउन सर्वोच्चले मन्त्रिपरिषद्को कार्यालयलाई समेत परमादेशको आदेश जारी गरेको छ।
उपत्यका र बाहिर जिल्लाका साविकका शहरभित्र पुराना मुख्य बजार क्षेत्रमा सवारीसाधन पार्किङको समस्याको बढिरहेको उल्लेख गर्दै सर्वोच्चले त्यस्ता बजार क्षेत्र नजिकका सार्वजनिक जग्गामा भूमिगतसहितका सार्वजनिक पार्किङस्थलको निर्माण गर्दै जान आदेश गरेको छ।
त्यस्ता स्थाननजिक बन्ने ठूल्ठूला व्यापारिक भवन र पसल प्रयोजनका लागि बनेको निजी भवनहरूमा राज्य पक्षबाट सुविधा र सहुलियत दिने गरी भूमिगत पार्किङको निर्माण गर्नुपर्ने गरी नक्सा पासको स्वीकृति दिन पनि सर्वोच्चले सम्बन्धित निकायहरूलाई आदेश जारी गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
