शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

भोजपुर । विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि भोजपुरको जौनागी आधारभूत विद्यालय पाँच दिनलाई बन्द गरिएको छ।

विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेपछि एक सामुदायिक विद्यालय बन्द गरिएको हो। टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको हो।

Advertisement

विद्यार्थी र शिक्षकमा कडा ज्वरो आउने र ठेउला देखिएपछि स्वास्थ्य जोखिमलाई हेरेर ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन्। संक्रमणबाट जोगिन विद्यालय बन्द गरिएको हो।

ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन्।

करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले सुनाइन्।

मौसम फेरबदल, दूषित हावापानी र सरसफाइमा ध्यान नदिँदा उक्त ज्वरो र ठेउलाको संक्रमण देखिएको स्वास्थ्य चौकी कोटका प्रमुख गणेश राईले बताए। सरुवा संक्रमण भएकाले संक्रमण फैलन नदिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको उनले बताए।

More News last news
Loading...