काठमाडौँ । नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो। फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ।
नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए।
नेपालले एन फायर फाइटिङ हेलिकप्टर ल्याउन लागेको बताउँदै उहाँले भन्नुभयो, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैँ हेलिकप्टर किनेर नियन्त्रणको बाटोमा अग्रसर भएको हो।”
मन्त्री आलेका अनुसार एउटा फायर हेलिकप्टर खरिद गर्नका लागि वन मन्त्रालयले दुई अर्ब रुपियाँ बजेट सरकारसँग माग गरिसकेको छ।
कुन देशबाट ल्याउँदा सहज र राम्रो आउँछ त्यस बारेमा बुझ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परामर्श भइरहेको उनले बताए ।
पहिले दुईवटा फायर फाइटिङ हेलिकप्टर ल्याउने विषयमा छलफल भएको थियो तर तत्काल नसकिने भएकाले एउटा हेलिकप्टर ल्याउन लागिएको हो।
यस पटक नेपालमा देखिएको डढेलाको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलोका घटना रेकर्ड भएको थियो। जसअनुसार सोमबार ७९८ स्थानमा डढेलो लागेको थियो। वि.सं. २०६६ सालमा उच्च प्रकोपका रूपमा नेपालमा यसअघि डढेलो देखिएको थियो। आजको गोरखापत्र दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
