नेपाललाई ऐतिहाँसिक सफलता, बङ्गलादेशलाई हराउँदै नेपाल विजयी

काठमाडौँ । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेको हो।

नेपालका लागि लागि खेलको १८औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे। पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो। बङ्गलादेशले खेलको ८३औँ मिनेटमा गोल फर्काएको हो।

Advertisement

यो जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो। बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक-शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

आजको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ। पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले आज दुई गोल गर्दै गोलको खडेरी तोडेको हो। १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन।

उपाधि जितेको नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेको छ।

यही महिना आयोजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

More News last news
Loading...