पछिल्लो २४ घण्टामा देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमण

८२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १४१ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ३ हजार २७ जनाको मृत्यु भएको छ।

हिजो आइतबार ८९ जना कोरोना संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६५ जना संक्रमित थपिएका थिए। उपत्यकाका काठमाडौँमा ५२, ललितपुरका ७ र भक्तपुरका ६ जना संक्रमित थपिएका थिए। 

यस्तै पछिल्लो साता कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। यो साता यूकेमा २ जना र क्यानाडामा १ जना कोरोना संक्रमितको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म २२ देशमा ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ।

डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...