काठमाडौँ । बार्सिलोनाले जारी स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ। कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरे।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६-१ ले पराजित गरेको हो।
बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे। उनले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे। मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन्।
बार्सिलोनाको जितमा मेस्सीले ५६औं र ८९औं मिनेटमा गोल गरे। यस्तै सर्जिनो डस्टले पनि दुई गोल गरे। उनले ४३औं र ५३औं मिनेटमा गोल गरे। एन्टोनी ग्रीजमनले ३७औं र उसमान डेम्बेलेले ७१औं मिनेटमा गोल गरे।
सोसिडाडका लागि एन्डर बारेनेट्जाले ७७औं मिनेटमा एक गोल फर्काए। जितपछि बार्लोना ला लिगाको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ। २८ खेलबाट ६२ अंक जोडेको बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि पारेको छ। समान खेलबाट ६० अंकसहित रियल तेस्रो स्थानमा छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
