काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए।
झापाको गौरादह निवासी खरेल २०६४-२०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्।
महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए । पत्रकार सम्मेलनमा बोल्दै खरेलले प्रधानमन्त्री केपी शर्माओलीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै सल्लाहमै राजीनामा दिएको बताए।
नयाँ महान्यायाधिवक्तामा बडाल नियुक्त
प्रधानमन्त्री केपी शर्माओलीले सरकारको नयाँ महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण राखिएको छ ।
अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
