काठमाडौँ । ल्होसारका कारण बन्द नेपाल-चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ।
माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले बताए।
नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए। नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए।
भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो। नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए।
यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ।
नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ। चिनियाँकै कारण दुवै नाका भएर हुने निर्यात ठप्प छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
