काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ। औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए।
सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्। वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताए।
यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेतारकार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ।
चन्द निकट एक नेताका अनुसार बुधबारको वार्तामा दुवै पक्षबीच एउटा मुद्दामा सहमति बनेको छ। ‘सरकारको प्रस्ताव वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने थियो। तर, वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नु पर्ने हुन्छ। त्यही भएर वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको बुझेको छु,’ ती नेताले भने।
यद्यपि यो सहमतिबारेको जानकारी औपचारिक रुपमा बाहिर आएको छैन। आगामी वार्ता बिहीबार हुने पनि ती नेताले बताए। चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो।
चन्द समूहले जेलमा रहेका आफ्ना नेता-कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ।
सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो। मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए। उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
