काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ।
बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो।
देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन्।
नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको देखिएको बताए।
यसअघि प्रचण्ड र माधव दुवै नेताले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अगाडि सारेको बताएका थिए। ‘बुधबारको छलफलमा पनि उनीहरु (प्रचण्ड–माधव) ले सोही कुरा प्रस्तावका रुपमा अगाडि सारेका थिए।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनका लागि आफू निकट नेतासँग छलफल गरिरहेका छन्। ओली पनि आफूले राजीनामा दिएर देउवालाई नै प्रधानमन्त्री बनाउने रणनीतिमा रहेको बुझिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
