विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए।
नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभामा ओलीले भने, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु।’
कुनै कारण प्रतिनिधिसभा पुनर्स्थापना हुने भयो भने सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए ।
देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला। संविधानको मर्म र भावना हेरेको होला। मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला।’
प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे ।
‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने। ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई आग्रह गरे।
उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
