काठमाडौँ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ।
अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु ७ अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए।
अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए। उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए।
आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए।
उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत परियोजनासम्बन्धी संसदबाट हुनुपर्ने अनुमोदन नयाँ संसद् गठन भएपछि हुने बताए।
सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सो परियोजनाका लागि स्रोत सुनिश्चित गरिएको बताए।
उनले प्रसारण लाइन र सडक परियोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अगाडि बढाउन उक्त स्रोतबाट खर्च गरिने जानकारी दिए। प्रसारण लाइनतर्फ नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम अगाडि बढेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
